काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा मालपोतका कर्मचारीसहित ४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
साविक चौंरीखर्क गाउँ विकास समिति (हाल खुम्बु पासाङल्हामु गाउँपालिका) मा रहेको सरकारी जग्गा बदनियतपूर्वक व्यक्तिको नाममा नामसारी गरेको अनुसन्धानबाट खुलेको हो। तत्कालीन कार्यालय प्रमुख स्वर्गीय भिम बहादुर सोम्बाहाम्फेको किर्ते दस्तखत गरी कित्ता नम्बर ४१८ र ४१९ को कुल ९,२०६ वर्ग मिटर जग्गा मनमाया नेपाली र सुवोध नेपालीको नाममा दर्ता गरिएको थियो।
अख्तियारले तत्कालीन प्रमुख स्वर्गीय केशव बहादुर कार्की (श्रीमती कमला कार्कीबाट बिगो असुल गर्ने गरी), खरिदार तेजनाथ पौडेल, जग्गाधनी मनमाया र सुवोध नेपालीलाई विपक्षी बनाएको छ। आर्थिक वर्ष २०६०÷६१ को न्यूनतम मूल्याङ्कनका आधारमा १९ लाख ९० हजार ५७५ रुपैयाँ बिगो कायम गरी जरिवाना, कैद सजाय र जग्गा जफतको मागदाबी गरिएको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको प्रतिवेदनले जग्गाधनी प्रमाण पुर्जामा अनाधिकार क्षेत्रफल थपिएको पुष्टि गरेको छ।