काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले स्थानीय तहले भोग्दै आएका समस्या समाधान गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन्। शुक्रबार मन्त्रालयमा आयोजित गाउँपालिका तथा नगरपालिका महासङ्घका प्रतिनिधिसँगको छलफलमा मन्त्री रावलले यस्तो धारणा राखेकी हुन्। कर्मचारी व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, कार्यविभाजनमा स्पष्टता र अनुदान कटौती जस्ता समसामयिक विषयमा केन्द्रित रहेर उक्त गहन छलफल भएको थियो।
छलफलका क्रममा नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गानाले स्थानीय तहमा देखिएका प्रशासनिक र विकास निर्माणका चुनौतीबारे विस्तृत जानकारी गराउँदै सङ्घीय सरकारको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिए।
त्यसैगरी, गाउँपालिका राष्ट्रिय महासङ्घका प्रतिनिधिहरूले भूमि व्यवस्थापन, कर्मचारी प्रशासन, अनुदानका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । जसमा सुकुम्बासीहरूलाई लालपुर्जा वितरण प्रक्रियामा सहजीकरण गर्नपर्ने, महालक्ष्मी नगरपालिकाका उपप्रमुखले प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखलाई प्रत्येक दुई वर्षमा अनिवार्य सरुवा गर्ने नीति ल्याउन सुझाव दिइन्, कटौती भएको बजेट र अनुदानका कारण विकास निर्माणमा परेको असर जस्ता विषयमा कुरा राखेका थिए ।
छलफलमा मन्त्री रावलले स्थानीय तहसँगको समन्वयबिना सङ्घीयता सफल नहुने भन्दै मन्त्रालय सहकार्यका लागि सधैँ खुला रहेको बताइन्। “नागरिक सन्तुष्ट हुने गरी सेवा प्रवाह गर्नु हाम्रो मुख्य लक्ष्य हो,“ उनले भनिन्, “जनताको अपेक्षा स्थानीय सरकारमार्फत नै पूरा हुने भएकाले यसलाई हामीले प्राथमिकतामा राखेका छौँ।“
स्थानीय तहका पदाधिकारीहरूले पछिल्लो समय कर्मचारी व्यवस्थापनमा मन्त्रालयले देखाएको तदारुकताका लागि धन्यवाद समेत व्यक्त गरेका थिए। कार्यक्रममा मन्त्रालयका उच्च अधिकारी र विभिन्न पालिकाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
-1775206929.jpeg)