काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले दाङको गढवास्थित इलाका प्रहरी कार्यालय परिसरमा नवनिर्मित ’महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र’ को कार्यालय भवनको बिहीबार एक विशेष समारोहबीच उद्घाटन गरेका छन् ।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले नयाँ भवन केवल इँटा र सिमेन्टको संरचना मात्र नभई प्रहरी र नागरिकबीचको प्रगाढ विश्वासको प्रतीक भएको बताएका छन् । उनले भने, “यो भवनले महिला, बालबालिका र ज्येष्ठ नागरिकका अधिकार र मर्यादा सुरक्षित गर्न ठुलो टेवा पुऱ्याउनेछ। पीडा र अन्यायमा परेका व्यक्तिहरूको गुनासोलाई अझ बढी संवेदनशीलताका साथ सम्बोधन गर्न यो पूर्वाधारले महत्वपूर्ण आधार प्रदान गरेको छ।”
उनले प्रहरी कर्मचारीहरूलाई आफ्नो बोलीबचन र कार्यशैलीमा सकारात्मक परिवर्तन ल्याई नागरिकको मर्म अनुरूप प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन समेत दिए । महानिरीक्षक कार्कीले नेपाल प्रहरीको क्षमता अभिवृद्धि, पूर्वाधार विकास र तालिममा बेलायत सरकारले पुऱ्याउँदै आएको सहयोगको प्रशंसा गर्दै समयमै भवन सम्पन्न गर्न सहयोग गर्ने सबै पक्षप्रति धन्यवाद व्यक्त गरे ।