काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले मन्त्रालयमै थकान मेटाउने गरेका छन् । दिनरात जनताकै लागि खटिरहेका गुरुङ मन्त्रालयमै केही समय थकान मेटाउने गरेका छन् । उनले मन्त्रालयकै एक सोफमा सुतेको तस्बिर सार्वजनिक गर्दै सरकार जनताभन्दा माथि हुन नसक्ने समेत बताएका छन् ।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनपश्चात् एकाएक चर्चामा आएका थिए । त्यस लगत्तै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन र मन्त्रीपरिषद् बिस्तारसम्म जोडिएका तीनै सुधन गुरुङ आसन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा–१ बाट विजयी हुँदै वालेन्द्र शाह (वालेन)को मन्त्री मण्डलमा आउन सफल भएका छन् ।
एक दिन नबित्दै हाई प्रोफाइलका दुई जना पक्राउ
चैत १३ गते गृहमन्त्रीको शपथ खाएका गुरुङले एक दिन नबित्दै दुई जना हाई प्रोफाइलका पक्राउ गर्न सफल भए । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि सुधनको धेरैले पंशसा गरे । भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा चैत १४ गते शनिवार बिहानै ओली र लेखक दुवै जनालाई प्रहरीले पक्राउ गर्यो । दुवै जनालाई पक्राउ गर्दै गृहमन्त्री गुरुङले कसैप्रति प्रतिशोध नभई केवल न्यायको सुरुआत भएको बताए ।
यसैबिच नेपाली काँग्रेसका नेता तथा पूर्व ऊर्जा मन्त्री दीपक खड्कालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि छानबिन गर्न,बलात्कार सम्बन्धी कसुरमा नेकपा एमालेका नेता कर्णबहादुर मल्ल, जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा अनुसन्धान अघि बढाउने क्रममा काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल,एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परिसकेका छन् । यसरी वर्षौँदेखि पावरको आडमा न्याय पारिरहेका व्यक्तिहरू धमाधम अनुसन्धानका लागि समातिने क्रम जारी छ । यो कार्यको प्रतिफल पनि गृहमन्त्री गुरुङलाईनै जानेछ ।
दिन रात जनताकै लागि खटिदैँ
सरकारी सेवा सुविधा नलिने घोषणा गरेका गृहमन्त्री गुरुङ आफ्नै गाडी चलाएर बाहिर खटिरहेका छन् । बिहीबार साँझ मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक छड्के गरेका छन् । विमानस्थल भित्रने र बाहिरिने यात्रुले भोगिरहेको समस्या समाधान गर्न उनले आकस्मिक छड्के अनुगमन समेत गरेका हुन् । विमानस्थलबाट भित्रने र बाहिरिने नागरिकले दुःख पाउनुपर्ने अवस्था अब सदाका लागि अन्त्य हुनुपर्ने जोड दिँदै कुनै पनि बाहानमा यात्रुलाई दुःख नदिई सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
यस्तै उनले सोही दिन जेनजी आन्दोलनका घाइतेहरूको अवस्था बुझ्न केएमसी अस्पताल पुगेका थिए । सिधै अस्पताल पुगेर घाइतेहरूसँग भेटघाट गर्दै स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । गुरुङ गृहमन्त्रीमा नियुक्त हुँदा धेरैले बोल्न नजान्ने व्यक्ति भनेर विश्लेषण गरेपनि उनै गृहमन्त्री अहिले वा-वा पाइरहेका छन् । गृहमन्त्री गुरुङ अहिले राति अबेरसम्म फिल्डमै समय बिताइरहेका छन् ।