काठमाडौं । गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेवाग्राहीलाई सास्ती नदिन निर्देशन दिएका छन् ।
सेवाग्राहीबाट गुनासो आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अनुगमन गर्दै यस्तो निर्देशन दिएका हुन् ।
अनुगमनका क्रममा गृहमन्त्री गुरुङले सम्बन्धित कर्मचारीलाई स्पष्ट निर्देशन दिँदै भने, 'सेवाग्राहीलाई कुनै पनि प्रकारको सास्ती नपर्ने गरी काम गर्नुस्।'
उनले विशेषगरी विदेशबाट फर्किएका नेपालीले विमानस्थलमै दुःख पाउने अवस्था अन्त्य गर्न जोड दिए।
सामान्य लत्ताकपडा तथा व्यक्तिगत प्रयोगका सामग्रीमा अनावश्यक जाँच नगर्न र प्रक्रियालाई सहज, छिटो र पारदर्शी बनाउन पनि उनले निर्देशन दिएका छन्।
बिहीबार साँझ टोलीसहित विमानस्थल पुगेका उनले त्यहाँको सेवा प्रवाह, यात्रु व्यवस्थापन र सुरक्षा जाँच प्रक्रियाबारे स्थलगत निरीक्षण गरेका थिए ।