काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा ट्राफिक प्रहरी, यातायात व्यवसायी र मजदुरबीच छलफल सम्पन्न भयो। कार्यक्रममा कार्यालय प्रमुख नवराज अधिकारीले ट्राफिक व्यवस्थापन विगतको तुलनामा अझ सुदृढ र प्रभावकारी भएको बताए।
उनले अपारदर्शी वा गैरजवाफदेही व्यवहार देखिए तत्काल जानकारी दिन आग्रह गर्दै आवश्यक कारबाही गरिने पनि स्पष्ट पारे। अधिकारीले भने, “हामी पहिले कहाँ थियौं र अहिले कहाँ आइपुग्यौं भन्ने कुरा हो। ट्राफिक व्यवस्थापनमा अब अझ सुदृढ र पारदर्शी काम भइरहेको छ। यदि कसैले नराम्रो व्यवहार गर्यो भने त्यसमा छुट छैन। सबैले पेशागत जिम्मेवारी पालना गर्नुपर्छ।”उनले चालकका समस्या समेत रहेको स्वीकार गर्दै व्यवसायीहरूलाई एकजुट भएर मजदुरको हकहितमा समान धारणा बनाउन आग्रह गरे। अस्वस्थ प्रतिस्पर्धाले क्षेत्र कमजोर बनाउने भएकाले सचेत हुनुपर्ने उनले बताए। साथै, चालक अभिमुखीकरण र तालिमका लागि ट्राफिक प्रहरी तयार रहेको पनि उनले जानकारी दिए।
त्यस्तै कार्यक्रममा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयकुमार स्वाँरले समाजमा दोहोरो प्रवृत्ति रहेको टिप्पणी गर्दै, दुर्घटना हुँदा चालक मात्र दोषी ठहरिनु उचित नहुने बताए।स्वाँरले भने, “हाम्रो चालकले गल्ती गर्छन् तर सर्वसाधारणले पनि चालकमाथि आक्रमण गर्ने गरेको छ। समाज एकरूप छैन। हामी एउटा औंलाले अरुलाई देखाउँछौं तर चारवटा औंला आफूतिर नै हुन्छ भन्ने कुरा भुलेका छौं।”उनीहरूले चालक र परिचालकको जीवन गाडीमै निर्भर भएकाले व्यवसायी क्षेत्रप्रति संवेदनशील हुनुपर्ने बताए। स्वाँरले व्यवसायीहरूले चालक छान्दा सचेत हुनुपर्ने कुरा उठाउँदै भने, “हाम्रो बच्चा पढाइदेखि सबै एउटै गाडीमा निर्भर छ। सरकारले प्रशिक्षण र शिक्षा दिनुपर्छ, हामीले जिम्मेवारी लिएका छौं तर प्राथमिक जिम्मेवारी भने सरकारले दिनुपर्छ।