काठमाडौँ । काठमाडौँको मनमैजु क्षेत्रमा खाजाघर सञ्चालन गरी महिलाहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–९ घर भएकी सुकुमाया तामाङ र सोही गाउँपालिका–४ का ३१ वर्षीय प्रमोद तामाङ रहेका छन्।
मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार सुकुमायाले सञ्चालन गरेको ’अशोक खाजाघर’ र प्रमोदले सञ्चालन गरेको ’मञ्जुश्री खाजाघर’ मा पीडितहरूलाई सुरुमा विभिन्न प्रलोभन देखाउने र पछि डर–त्रास दिई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरिएको पाइएको छ। पीडितको उजुरीका आधारमा खटिएको ब्यूरोको टोलीले उनीहरूलाई सोमबार नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनामाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ। जिल्ला अदालत काठमाडौँबाट ७ दिनको म्याद थप अनुमति लिई यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।