काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी अर्घाखाँची शितगंगा नगरपालिका–५ का ३० वर्षीय शिव बहादुर सारूलाई प्रहरीले पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले उनलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो।
प्रतिवादी सारू साउदी अरबबाट ’फ्लाई दुबई’ को उडानमार्फत नेपाल फर्कदै थिए। सोही क्रममा विमानस्थल अध्यागमन कार्यालयको समन्वयमा उनलाई ब्यूरोको टोलीले पक्राउ गर्न सफल भएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा सारूले ह्वाट्सएपको प्रयोग गरी पीडितहरूलाई आर्थिक प्रलोभनमा पार्ने गरेको खुलेको छ। उनले २०८१ असोजदेखि विभिन्न माध्यमबाट ग्राहकहरू खोज्ने र पीडितहरूलाई होटल तथा कोठाहरूमा पठाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको पाइएको छ।
पक्राउ परेका सारूमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट ३ दिनको म्याद थप अनुमति लिइएको छ। घटनाका सम्बन्धमा थप प्रमाण सङ्कलन र अन्य संलग्नहरूको खोजी भइरहेको ब्यूरोले जनाएको छ।