काठमाडौँ । समाजमा शान्ति सुव्यवस्था कायम राख्दै आम नागरिकको दैनिक जीवनयापन सहज बनाउन नेपाल प्रहरीले आफ्नो सक्रियता बढाएको जनाएको छ। वर्तमान परिप्रेक्ष्यमा बिचौलिया रहित, नागरिकमैत्री, कानुनसम्मत, पारदर्शी र छिटोछरितो सेवा प्रवाहलाई प्रहरीले उच्च प्राथमिकतामा राखेको नेपाल प्रहरीले जनाएको छ ।
प्रचलित कानुनको कार्यान्वयनद्वारा विधिको शासन प्रत्याभूति गराउन प्रहरीले विशेष कार्ययोजना अगाडि सारेको जनाएको छ । नयाँ सरकार गठन पश्चात् मुलुकको प्रशासनिक र राजनीतिक क्षेत्रमा आएको परिवर्तन तथा “शासकीय सुधार सम्बन्धी सरकारका १०० कार्यसूची” को भावना अनुरूप प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको जनाएको छ।
प्रहरी कार्यालयहरूमा सेवाग्राहीलाई प्रलोभन देखाएर बिचौलियाहरू हावी भएको सूचना प्राप्त भएपछि नेपाल प्रहरी प्रधान कार्यालयले मुद्दा चल्ने इलाका तहसम्मका कार्यालयहरूलाई विशेष परिपत्र जारी गरेको छ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले “नेपाल प्रहरीको मुख्य उद्देश्य नै बिचौलिया रहित र पारदर्शी सेवा प्रवाह गर्नु रहेको बताएका छन् । उनले भने “नेपाल प्रहरीको मुख्य उद्देश्य नै बिचौलिया रहित र पारदर्शी सेवा प्रवाह गर्नु हो। प्रहरी कार्यालय वरपर बसेर नागरिकलाई दुःख र हैरानी दिने व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्न प्रहरी सक्रिय रूपमा परिचालित छ।”
वर्तमान परिप्रेक्ष्यमा बिचौलिया रहित, नागरिकमैत्री, कानुनसम्मत, पारदर्शी गर्नका लागि जिल्ला प्रहरी कार्यालयदेखि मुद्दा चल्ने इलाका प्रहरीसम्मका मुख्य प्रवेशद्वार र वरिपरि सीसीटीभी जडान गरी सूक्ष्म अवलोकन गरिने योजना रहेको नेपाल प्रहरीले योजना बनाएको छ । कार्यालयमा दैनिक आउने व्यक्तिहरूको विस्तृत अभिलेख राखिनेछ र अनावश्यक भीडभाड नियन्त्रण गरिने लक्ष्य राखेको बताएको छ । सेवाग्राही आफैँ उजुरी लेख्न नसक्ने भएमा प्रहरीले नै नजिकको आफन्तको रोहबरमा उजुरी लेख्न सहयोग गर्नेछ, कुनै पनि अपराधलाई समाजमा नै ’पञ्चायती’ गरेर मिलापत्र गर्ने कार्यलाई तत्काल बन्द गरी कानुनी प्रक्रिया अगाडि बढाइने कार्यक्रम पनि राख्ने जनाएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय र मातहतका कार्यालयहरूले यो परिपत्र पालना नगरेमा वा सेवा प्रवाहमा सुधार नआएमा सम्बन्धित कार्यालय प्रमुखहरूलाई नै जिम्मेवार बनाइनेछ। उनीहरूको कार्यसम्पादन मूल्याङ्कनमा समेत यसले प्रभाव पार्ने प्रवक्ता काफ्लेले स्पष्ट पार्नुभएको छ।