काठमाडौं । आउँदो वैशाख १ गतेदेखि काठमाडौं महानगरपालिकाले रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ । साझा यातायातसँगको सहकार्यमा ललितपुरको लगनखेलदेखि बूढानीलकण्ठसम्म र थानकोटदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म दुईवटा रुटमा रात्रिकालीन यातायात सेवा सञ्चालन गर्न लागेको हो ।
लगनखेलबाट पाटन अस्पताल, अल्का अस्पताल, नर्भिक अस्पताल तथा प्रसुति गृह, नेसनल ट्रमा सेन्टर तथा वीर अस्पताल, कान्ति तथा शिक्षण अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बूढानीलकण्ठसम्मको एउटा रुट सञ्चालन गर्न लागेको हो । त्यस्तै, थानकोटदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म अर्को रुट सञ्चालन गर्न लागेको छ ।
जसमा थानकोट हुँदै सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै विमानस्थलसम्म सञ्चालन हुनेछ । यी दुई रुटमा चारवटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुने महानगरले जनाएको छ ।