सुर्खेत । वीरेन्द्रनगरमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिसा विकको शव घटनाको २७ औँ दिनमा परिवारले बुझ्ने भएका छन्। अभियुक्तहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै शव बुझ्न अस्वीकार गर्दै आएको परिवार अदालतको आदेशपछि अन्ततः तयार भएको हो।
इनिसाको शव आज (बिहीबार) दिउँसो भेरी पुल नजिकैको सम्झिघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको परिवारले जनाएको छ। २७ दिनदेखि उनको शव प्रदेश अस्पतालको शव गृहमा राखिएको थियो।
मंगलबार जिल्ला अदालत सुर्खेतले बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधारगृह पठाउन आदेश दिएको थियो। अदालतले दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाएसँगै न्यायको आशा पलाएको भन्दै परिवारले शव बुझ्न सहमति जनाएका हुन्।
गुर्भाकोट नगरपालिका–६, बडाखोली स्थायी घर भएकी इनिसा वीरेन्द्रनगर–१ मा बसेर अध्ययन गर्दै आएकी थिइन्। वीरेन्द्रनगरकै उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत उनी गत फागुन २३ गते बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन्।
सोही दिन बिहान ९ बजे वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकैको जङ्गलमा उनी अचेत अवस्थामा फेला परेकी थिइन्। प्रहरीले तत्काल प्रदेश अस्पताल कालागाउँ पु¥याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटना शंकास्पद देखिएपछि प्रहरीले चार जना किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो। प्रारम्भिक अनुसन्धानबाट बलात्कारपछि हत्या भएको पुष्टि भएपछि प्रहरीले मुद्दा दर्ता गरेको थियो। इनिसाका दोषीलाई कडा कारबाहीको माग गर्दै सुर्खेतसहित देशका विभिन्न भागमा विरोध प्रदर्शनसमेत भएका थिए।