काठमाडौँ । बालेन सरकार नेतृत्वमा बनेको नयाँ सरकारसँगै सरकारी कार्यालयहरू पनि सुध्रिन थालेका छन् । विशेष गरी यातायात कार्यालय,मालपोत र नापी कार्यालयमा बिचौलियाहरूको बिगबिगी देखिन्थ्यो । तर अहिले तिनै कार्यालय धमाधम सूचना निकाल्दै बिचौलियालाई प्रवेश निषेध गर्न थालेका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्देशन दिएपछि मालपोत र नापीमा पनि यो नियम लानुहुन लागेको हो । यो सँगै सरकारी कार्यालयमा बिचौलियाहरुको बिचल्ली हुने निश्चित छ । यसैबिच मालपोत कार्यालय कास्कीले पनि बिचौलियालाई प्रवेश निषेध गरेको छ।

यस्ता धेरै भिडभाड हुने सरकारी कार्यालयमा बिचौलियाकै कारण सर्वसाधारणले सास्ती तथा लुटिने कार्य बढ्दै आइरहेको थियो । अब भने बिचौलियालाई निषेध गरेपछि सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले एक सूचना जारी गर्दै कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गरेको जानकारी दिएको छ ।कार्यालयले कुनै पनि सेवा लिन बिचौलियाको आवश्यकता नपर्ने र तोकिएको शुल्कबाहेक अतिरिक्त रकम नतिर्न सेवाग्राहीलाई अनुरोध गरेको छ ।

कार्यालयका विभिन्न फाँटहरूमा हुने भिडभाड र कागजातको सुरक्षामा गम्भीर प्रश्न उठाउँदै अनधिकृत व्यक्ति प्रवेशमा रोक नलगाएको खण्डमा कार्यालय प्रमुख जिम्मेवार हुने जनाइएको छ । बिचौलियालाई निषेध गरेपछि सेवाग्राहीले भने निवेदन र कागजात देखाएर सहजै सेवा पाउने छन् ।
यसैबिच सरकारी कार्यालयमा दिउँसोको खाजा समयमा पनि सेवा नियमित हुन थालेका छन् । काठमाडौँ महानगरपालिकाले एक सचना जारी गर्दै खाजाको समयमा पनि सेवा नियमित भईरहेको जनाएको हो ।

