काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सांसद भएर पनि किताब बेच्नुपर्ने आफ्नो बाध्यता रहेको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत पुनले आफ्ना परियोजनाहरू सञ्चालनका लागि आर्थिक स्रोत जुटाउन किताब बेचिरहेको बताएका हुन् । सांसद हुँदा र नहुँदा पनि आफूले किताब बेचिरहनुको पछाडि बाध्यता रहेको उनले स्पष्ट पारेका छन्।
पुनका अनुसार हाल राष्ट्रिय आविष्कार केन्द्र, पोखरा आइसीटी इनोभेसन ल्याब र वीरगन्ज कृषि औजार कारखाना गरी तीनवटा क्षेत्रमा ठुलो जनशक्ति कार्यरत छ । जसमा आविष्कार केन्द्र र पोखरा ल्याबमा ३८ जना तथा वीरगन्जमा ४५ जना गरी कुल ८३ जना युवाले प्रत्यक्ष काम गरिरहेका छन् ।
यसबाहेक १० देखि १५ जनाले इन्टर्नसीप गरिरहेका छन् । उनले करिब ९० जनाको दैनिक खानपिन र पूर्णकालीन कर्मचारीको पारिश्रमिकमा मात्रै मासिक २५ लाख रुपैयाँ खर्च हुने गरेको जानकारी दिए ।