काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सेवामा देखिएको बिचौलिया प्रवृत्ति अन्त्य गर्न मातहतका निकायलाई कडा निर्देशन दिएका छन्।
बुटवलस्थित इलाका प्रहरी कार्यालय परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटनका क्रममा उनले सर्वसाधारणलाई सरल, छरितो र प्रत्यक्ष सेवा उपलब्ध गराउन प्रहरी संयन्त्रलाई अझ सक्रिय हुन आग्रह गरे आईजीपी कार्कीले बिचौलियामार्फत हुने शोषण र अवैध गतिविधि नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने बताए। निवेदन लेख्ने बहानामा सर्वसाधारण, विशेषगरी सीमान्तकृत र अशिक्षित नागरिकबाट अनावश्यक शुल्क लिने प्रवृत्तिको आलोचना गर्दै उनले त्यस्ता कार्य रोक्न प्रहरी स्वयंले निःशुल्क रूपमा निवेदन लेखिदिने व्यवस्था मिलाउन निर्देशन दिए। त्यसैगरी, स्वयंसेवकमार्फत प्रदान गरिने सेवामा पनि पारदर्शिता कायम गर्नुपर्ने उल्लेख गर्दै उनले प्रहरी कर्मचारीलाई व्यवहार, बोलीचाली र कार्यशैलीमा सुधार ल्याई नागरिकमैत्री सेवा प्रवाहमा जोड दिन आग्रह गरेका छन्।