काठमाडौँ। आज विश्व अटिजम सचेतना दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। अटिजम मस्तिष्कको विकाससँग सम्बन्धित अवस्था हो, जसले व्यक्तिको व्यवहार, सोच्ने तरिका र बोल्ने शैलीलाई सामान्यभन्दा फरक बनाउँछ।
विशेषज्ञहरूका अनुसार अटिजम भएका व्यक्तिहरूले संसारलाई बुझ्ने र प्रतिक्रिया दिने तरिका फरक हुन्छ। उनीहरूको क्षमता र आवश्यकता पनि भिन्न–भिन्न हुन सक्छ। अटिजम भएका व्यक्तिको गरिमा, अधिकार र समाजमा समान सहभागिता सुनिश्चित गर्नुपर्ने सन्देशसहित संयुक्त राष्ट्रसङ्घ को आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो। यस वर्ष पनि अटिजम भएका व्यक्तिको योगदानको कदर गर्दै उनीहरूको अधिकारको सम्मान गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरिएको छ। यसै अवसरमा एन्टोनियो गुटरेस ले सन्देश जारी गर्दै अटिजम भएका व्यक्तिहरूलाई समाजमा समान अवसर र सहभागिता सुनिश्चित गर्न मानवअधिकार तथा मौलिक स्वतन्त्रताको पूर्ण कार्यान्वयन आवश्यक रहेको बताएका छन्।