काठमाडौँ । हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले सामुदायिक रेडियोहरू नेपाली समाजलाई जोड्ने एउटा बलियो ’रसायन’ भएको बताएकी छन् । रेडियो मकवानपुर १०१.३ मेगाहर्जको १६ औं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै उनले बताएकी हुन ।
सार्वजनिक हित र सामाजिक उत्तरदायित्व वहन गर्ने मामिलामा सामुदायिक रेडियोको भूमिका अतुलनीय रहेको उनको भनाइ छ । वि.सं. २०५४ सालमा सुरु भएको रेडियो सगरमाथाले दक्षिण एसियामै नेपालको शिर उचो बनाएको उल्लेख गर्दै उनले भनिन् ।
“लोकतान्त्रिक गणतन्त्रको अभ्यास भइरहेको मुलुकमा सञ्चार क्षेत्र ’चौथो अंग’ को रूपमा अपरिहार्य छ । देशभरका ३ सय ५० भन्दा बढी सामुदायिक रेडियोका बीच रेडियो मकवानपुरले आफ्नो विशिष्ट पहिचान बनाउन सफल भएको छ ।“
वर्तमान समयमा देखिएको आर्थिक मन्दीले सञ्चार क्षेत्रमा पारेको प्रभावप्रति चिन्ता व्यक्त गर्दै प्रमुख लामाले सामुदायिक रेडियोको जिम्मेवारी निजी रेडियोको तुलनामा फरक र गहिरो हुने तर्क गर्नुभयो ।
रेडियोलाई ’मनको योग’ सँग तुलना गर्दै उनले रेडियोको युग कहिल्यै समाप्त नहुने ठोकुवा गरेकी हुन । २००७ सालको क्रान्ति, जनयुद्ध, २०७२ को भूकम्प र कोरोना महामारी जस्ता कठिन समयमा रेडियोले खेलेको प्रभावकारी भूमिकाको उनले चर्चा गरेकी हुन ।
विकसित देश जापानको उदाहरण दिँदै उनले भनिन्, “जापानमा हरेक टेलिभिजनले प्राकृतिक विपदका लागि रेडियो स्टेसनलाई जतनसाथ जोगाएर राख्छन् । नेपालमा पनि रेडियोको आवश्यकता भविष्यमा झन् बढ्दै जानेछ ।“