काठमाडौँ । रवि लामिछाने पर्सा जिल्ला अदालतमा उपस्थित भई कानुनी प्रक्रिया पूरा गरेर काठमाडौँ फर्किएका छन्। बुधबार सिमरा हुँदै विरगञ्ज पुगेका लामिछानेले अदालतमा हाजिर भई म्याद बुझ्ने कार्य सम्पन्न गरेका थिए। आवश्यक प्रक्रिया पूरा गरेपछि उनी सोही दिन अपराह्न सुरक्षा व्यवस्थाकाबीच काठमाडौँ फर्किएका हुन्।
उनको अदालत उपस्थितिलाई ध्यानमा राख्दै बिहानदेखि नै कडा सुरक्षा व्यवस्था गरिएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरी सम्भावित भिड व्यवस्थापन गरिएको थियो। अदालत परिसरमा लामिछानेका समर्थकहरू समेत ठूलो संख्यामा उपस्थित भएका थिए। यसअघि पनि विभिन्न मुद्दाका क्रममा उनी पटक–पटक अदालतमा हाजिर हुँदै आएका छन्। यसपटक पनि उनले कानुनी दायित्व पूरा गर्दै म्याद बुझेर काठमाडौं फर्किएको जनाइएको छ।