काठमाडौँ । पछिल्लो समय दैनिक जस्तो बालिका बलात्कारका घटना बढ्दै गएका छन् । आज १८ गते मात्र २ जना बालिका बलात्कृत भएको घटना सार्वजनिक भएका छन् । नेपाल प्रहरीको समाचारकक्षका अनुसार बुधबार मात्र २ बलात्कारका घटना सार्वजनिक भएको जनाएको छ । जसमा बाँके र झापामा बलात्कारका घटना भएको जनाएको छ । जसमा ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बाँकेको कोहलपुरमा १८ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका–५ रझेना बस्ने २१ वर्षीय आशिष थारू, वडा नम्बर ६ बस्ने २७ वर्षीय सन्दिप थारू, २१ वर्षीय निरज थारू र एक जना १६ वर्षीय किशोर रहेका छन्।
पीडित किशोरीले आफूमाथि जबरजस्ती करणी भएको भनी इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएपछि प्रहरी तत्काल सक्रिय भएको थियो। उजुरीको आधारमा खटिएको प्रहरी टोलीले मङ्गलबार साँझ नै उनीहरूलाई नियन्त्रणमा लिएको हो। सामूहिक संलग्नता देखिएको यस घटनामा संलग्न अन्य पक्षबारे पनि प्रहरीले गम्भीरताका साथ खोजी गरिरहेको छ।
यस्तै, झापामा पनि १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–८ (हाल बिर्तामोड नगरपालिका–८) बस्ने २८ वर्षीय प्रविण सुन्दास रहेका छन्।
प्रविणले ती बालिकालाई जबरजस्ती करणी गरेको जानकारी पाएपछि पीडित पक्षले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सुन्दासलाई मङ्गलबार साँझ पक्राउ गरेको हो।
पक्राउ परेका सबै अभियुक्तहरूलाई हिरासतमा राखेर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ। जबरजस्ती करणी जस्तो जघन्य अपराधमा संलग्न उनीहरूमथि प्रमाण सङ्कलन र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुवै जिल्लाका प्रहरी कार्यालयहरूले यस्ता घटनामा शून्य सहनशीलता अपनाउँदै पीडितलाई न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।