काठमाडौं । प्रहरी हिरासत तथा कारागारमा रहेका व्यक्तिहरूलाई धरौटीमा छुटाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका मण्डिखाटारस्थित हलेसी महादेव मार्ग बस्ने ४५ वर्षीय हरि बहादुर थापा मगर र उनकी श्रीमती ३७ वर्षीया अनिता थापा मगर (मिठु मगर) रहेका छन्।
घटनाको जड गत भदौ महिनासँग जोडिएको छ। भदौ २३ र २४ गते भएको एक प्रदर्शनका क्रममा आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा तीन जना प्रतिवादीहरू हाल जगन्नाथदेवल (सुन्धारा) स्थित कारागारमा पुर्पक्षका लागि थुनामा छन्। थुनामा रहेका ती व्यक्तिहरूका परिवारलाई भेटेर मगर दम्पतीले “आफ्नो पहुँच माथिल्लो तहसम्म रहेको“ भन्दै ठगीको जाल बुनेका थिए।
पक्राउ परेका हरि बहादुर र अनिताले पीडित परिवारलाई सर्वोच्च अदालतका न्यायाधीशहरूसँग आफ्नो विशेष चिनजान रहेको र भनसुन गरेर तुरुन्तै धरौटीमा छुटाइदिने आश्वासन दिएका थिए। उनीहरूले धरौटी बापतको रकम र वकिललाई बहस खर्च बुझाउनुपर्ने भन्दै पटक–पटक गरी ९ लाख रुपैयाँ असुल गरेका थिए। अदालतको प्रक्रियालाई प्रभाव पार्न सक्ने भ्रामक दाबी गरेर उनीहरूले ठूलो रकम ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
आफन्तहरू नछुट्ने र बुझाएको रकम समेत डुब्ने जोखिम देखेपछि पीडित पक्षले प्रहरीमा उजुरी दिएका थिए। सोही सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा ठगीमा संलग्नता पुष्टि भएपछि प्रहरीले उनीहरूलाई बुढानिलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो।
कानुनी प्रक्रियाभन्दा बाहिर गएर सेटिङ वा भनसुनको नाममा रकम उठाउनु गम्भीर अपराध भएको भन्दै प्रहरीले यस घटनामा अन्य व्यक्तिहरूको संलग्नता भए÷नभएको बारे पनि खोजी गरिरहेको छ। पक्राउ परेका दम्पतीमाथि ठगी सम्बन्धी कसुरमा थप कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।