काठमाडौँ। दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरीको कमाण्डो तालिम (प्रहरी विशेष कला तथा कारवाही) को दीक्षान्त समारोह सम्पन्न भएको छ।
नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा सञ्चालित ११औं समूहको उक्त तालिमको दीक्षान्त समारोह बुधबार सोही महाविद्यालयमा आयोजना गरिएको हो। समारोहमा आईजीपी कार्कीले तालिमका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गर्नुका साथै प्रशिक्षक र सहयोगीहरूलाई प्रशंसा पत्र वितरण गरेका थिए। साथै, महाविद्यालय परिसरमा निर्माण गरिएको “आर्म ब्याज” नमुना स्तम्भको अनावरण समेत गरिएको थियो।
सम्बोधनका क्रममा कार्कीले शारीरिक तथा मानसिक रूपमा चुनौतीपूर्ण भए पनि गौरवपूर्ण उक्त तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा प्रशिक्षार्थीहरूलाई बधाई दिए। उनले तालिमबाट प्राप्त ज्ञान, सीप, आत्मविश्वास र साहसले देशको आन्तरिक सुरक्षा, विपद् उद्धार, आतंकवाद नियन्त्रण तथा विशिष्ट व्यक्तिको सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले प्रशिक्षार्थीहरूलाई आगामी दिनमा अनुशासन, व्यावसायिकता, नैतिकता र इमानदारितालाई आत्मसात् गर्दै कुनै पनि प्रकारका प्रलोभन वा दबाबबाट विचलित नहुने गरी काम गर्न निर्देशन समेत दिए। समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाहले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए भने महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले स्वागत मन्तव्य राखेका थिए।
तालिम संयोजक प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीका अनुसार ९० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक ७ जना, सहायक निरीक्षक १८ जना र प्रहरी जवान ६८ जना गरी कुल ९३ जना प्रशिक्षार्थी सहभागी थिए। कार्यक्रममा प्रशिक्षार्थीहरूले बाधापार, हतियार खोलजोड, स्यान्ड मोडल ब्रिफिङ, होस्टेज रेस्क्यू, फायर एण्ड मुभ, खाली हात लडाइँ तथा एक्सप्लोसिभ अर्डिनान्स डिस्पोजल सम्बन्धी विभिन्न प्रदर्शन गरेका थिए। समारोहमा सुनवल नगरपालिकाका प्रमुख बिमला अर्याल, नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख लगायत सुरक्षा निकायका अधिकारी तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।