काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपाल भ्रमणसम्बन्धी ‘ट्राभल एडभाइजरी’ परिमार्जन गरेको छ । ट्राभल एडभाइजरी परिमार्जन गर्दै सतर्कताको तह घटाएको छ । सन् २०२५ सेप्टेम्बरदेखि सुरु भएको देशव्यापी प्रदर्शनहरू साम्य भई सुरक्षा अवस्था स्थिर बनेपछि अमेरिकाले आफ्नो नागरिकका लागि ‘एडभाइजरी’ अपडेट गरेको हो ।
अमेरिकी विदेश मन्त्रालयद्वारा जारी नयाँ सार्वजनिक सूचना अनुसार नेपालमा सुरक्षा स्थिति सामान्य बन्दै गएको उल्लेख छ । यसअघि उच्च जोखिम देखाइएकोमा अहिले यसलाई घटाएर थप सावधानी अपनाउनु पर्ने तहमा झारिएको छ ।
नेपालको स्वास्थ्य सेवाका सम्बन्धमा एडभाइजरीमा काठमाडौँका अस्पतालहरू तुलनात्मक रूपमा अन्य क्षेत्रभन्दा राम्रो भए पनि उपकरण र औषधीको अभाव हुन सक्ने उल्लेख छ । विदेशी नागरिकको उपचार खर्च नेपाल सरकारले नबेहोर्ने भएकाले आफ्ना नागरिकलाई अनिवार्य रूपमा ट्राभल इन्स्योरेन्स गर्न र आवश्यक औषधी साथमै बोक्न आग्रह गरिएको छ । नेपाल भूकम्पीय जोखिम भएको क्षेत्र हुनुका साथै जुनदेखि सेप्टेम्बरसम्मको मनसुन अवधिमा बाढी र पहिरोको उच्च जोखिम रहने कुरालाई पनि एडभाइजरीमा विशेष जोड दिइएको छ ।
