काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले आजबाट कायममुकायम कामु प्रधानन्यायाधीशको कार्यभार सम्हालेकी छिन् । प्रकाशमान सिंह राउत ६५ वर्षे उमेर हदका कारण मंगलबारदेखि अनिवार्य अवकाशमा गएपछि मल्ल आजदेखि कामु प्रधानन्यायाधीश बनेकी हुन् ।
प्रधानन्यायाधीश अवकाश भएपछि बरिष्ठतम् न्यायाधीश स्वत कामु प्रधानन्यायाधीश हुने व्यवस्था छ । वरिष्ठ अधिवक्ता एवं पहिलो संविधानसभा सदस्य रहेकी सपना प्रधान मल्ल १७ साउन २०७३ मा सर्वोच्च अदालतको न्यायाधीश भएकी थिइन् । नेपालको संविधानको धारा १२९ मा प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीश नियुक्ति र योग्यतासम्बन्धी व्यवस्था गरिएको छ।