काठमाडौँ । तेह्रथुमको तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रमा लालीगुराँस टिप्ने र हाँगा भाँच्ने कार्यमाथि कडाइ गरिएको छ। बसन्त ऋतुमा अत्यधिक मानवीय हस्तक्षेप बढ्दै जाँदा वनस्पति र जैविक विविधतामै असर पर्न थालेपछि सामुदायिक वनहरूले निगरानी बढाउँदै उल्लंघन गर्नेलाई जरिवाना गर्ने व्यवस्था लागू गरेका हुन्।
चैत्रे सामुदायिक वनका अध्यक्ष इन्द्रबहादुर खड्काका अनुसार गुराँस जोगाउन वन क्षेत्रमा कर्मचारी खटाएर नियमित अनुगमन भइरहेको छ। उनका अनुसार गुराँस टिप्ने, हाँगा भाँच्ने जस्ता गतिविधि भेटिएमा तुरुन्त कारबाही गरिनेछ। साथै, गुराँसको अत्यधिक प्रयोग रोक्न जुस उत्पादनजस्ता काममा समेत नियमन सुरु गरिएको छ। समुद्री सतहदेखि करिब १,७०० देखि ५,००० मिटर उचाइसम्म फैलिएको टिएमजे क्षेत्र ‘गुराँसको राजधानी’का रूपमा परिचित छ। यहाँ नेपालमा पाइने ३२ प्रजातिमध्ये करिब २८ प्रजातिका गुराँस पाइन्छन्। विभिन्न रङका यी गुराँसले वन्यजन्तु तथा चराचुरुङ्गीलाई बासस्थान दिनुका साथै वातावरण सन्तुलनमा महत्वपूर्ण योगदान पुर्याउँछन्।
तर पछिल्लो समय अनियन्त्रित रूपमा फूल टिप्ने, वन क्षेत्रमा क्षति पुर्याउने, सडक विस्तार, वन अतिक्रमण तथा काठ चोरीजस्ता गतिविधिले गुराँसको बासस्थान घट्दै गएको छ। यसको असर दीर्घकालीन रूपमा पर्यटन र स्थानीय अर्थतन्त्रमा पर्ने चिन्ता व्यक्त गरिएको छ। स्थानीय तहले पनि संरक्षणका कामलाई तीव्र बनाएको छ। लालीगुराँस नगरपालिका–७ मा वन व्यवस्थापन, पानी संरक्षण र पहिरो नियन्त्रणका कार्यक्रम सञ्चालन भइरहेका छन्। पाँचपोखरी क्षेत्रमा गुराँस पार्क निर्माण गरेर विभिन्न प्रजातिको संरक्षण गर्ने प्रयास गरिएको छ। हालै बसन्तपुरमा आयोजित एक गोष्ठीले गुराँस संरक्षणका लागि कडा नीति आवश्यक रहेको निष्कर्ष निकालेको छ। कार्यक्रममा सहभागीहरूले वन क्षेत्रमा हुने क्षति रोक्न कडाइका साथ कारबाही गर्नुपर्नेमा जोड दिएका थिए। विज्ञहरूका अनुसार ‘गुराँसको राजधानी’मै यसको प्रजाति हराउँदै जानु चिन्ताजनक विषय हो। त्यसैले वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य मानिएको छ।