काठमाडौं । बाजुराको त्रिवेणी नगरपालिका वडा नं. ५ स्थित किम्नी खोला ट्रस पुल निर्माणमा भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतले गत २०८२ असार ११ गते प्रतिवादीहरूलाई सफाई दिने फैसला गरेपछि आयोगले उक्त फैसला त्रुटिपूर्ण रहेको भन्दै सर्वोच्च गुहारेको हो ।
आर्थिक वर्ष २०७४÷०७५ र २०७५÷०७६ मा उपभोक्ता समिति मार्फत निर्माण गरिएको उक्त पुलमा निर्धारित मापदण्ड विपरीत कम गुणस्तरको सामग्री प्रयोग गरिएको र नभएको कामको समेत झुट्टा बिल बनाएर भुक्तानी लिएको अख्तियारको आरोप छ ।
नक्कली नापी र बिल बनाई वास्तविक कार्यभन्दा नापी किताबमा बढी परिमाण देखाई ४ लाख ३१ हजार ४ सय ८६ रुपैयाँ ६४ पैसा बढी भुक्तानी लिएको अख्तियारको अनुसन्धानमा खुलेको छ । निर्माणका क्रममा ’मेशिन मेड’ ग्याविन हुनुपर्नेमा हातले बुनेको गुणस्तरहीन ग्याविन प्रयोग गरिएको र त्यसलाई गुणस्तरीय भनी स्वीकृत गरिएको बताइएको आरोप रहेको छ । स्टिल ट्रसको परिमाण २२२६.१५ केजी हुनुपर्नेमा ८००० केजी देखाई अस्वाभाविक लागत अनुमान तयार गरी भुक्तानी लिइएको ।
अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतहरू तिर्थराज थापामगर र खगेन्द्र साउद, इन्जिनियर नविन साउद, सब–इन्जिनियर राजेन्द्र बहादुर वि.क., असिस्टेन्ट सब–इन्जिनियर राजेन्द्र बहादुर साउद र उपभोक्ता समितिका पदाधिकारीहरू (जंग बहादुर बुढा, डम्म बहादुर बुढा र तुली देवी बुढा) लाई विपक्षी बनाई पुनरावेदन गरेको छ ।
आयोगले विशेष अदालतले प्रमाणहरूको उचित मूल्याङ्कन नगरी सफाई दिएको भन्दै ती सबै प्रतिवादीहरूलाई मागदाबी बमोजिम कैद र जरिवानाको सजाय हुन माग गरेको छ ।