काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका सातौँ तहका कम्पनी सचिव राजेश पोखेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। नक्कली कार्य अनुभवको प्रमाणपत्र पेस गरी सार्वजनिक पद प्राप्त गरेको पुष्टि भएपछि आयोगले आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।
राजेश पोखेलले २०७३ सालमा राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडमा कम्पनी सचिव पदका लागि आवेदन दिँदा ’गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेड’ मा वरिष्ठ अधिकृतका रूपमा काम गरेको भनी झुट्टा अनुभवको प्रमाणपत्र पेस गरेका थिए। उनले २०७० सालदेखि २०७३ सालसम्म सो हाइड्रो पावरमा काम गरेको दाबी गरेका थिए।
अख्तियारको अनुसन्धानका क्रममा गर्जाङ उपत्यका हाइड्रो लिमिटेडले पोखेल आफ्नो कम्पनीमा कहिल्यै कार्यरत नरहेको जानकारी दिएको छ। साथै, उनले पेस गरेको अनुभवको प्रमाणपत्रको मिति र चलानी नम्बरको कुनै रेकर्डसमेत कम्पनीमा फेला परेन। यसरी नक्कली कागजातलाई वास्तविक भनी पेस गरेर उनले २०७३ फागुन १० गते सेवा करारमा नियुक्ति पाएका थिए।
नक्कली विवरणका आधारमा पदमा बहाल रही पोखेलले २०७३ फागुनदेखि २०८२ पुस २० गतेसम्म सेवा सुविधा बापत कुल रु. १ करोड ७ लाख ५ हजार ५८४ रुपैयाँ सतहत्तर पैसा बुझेको देखिएको छ।
उनले गरेको यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको आयोगको ठहर छ। मागदाबीः आयोगले उनलाई सोही ऐन बमोजिम कैद र जरिवाना सजायको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।