काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम रहेको ‘सिन्डिकेट’ अन्त्य गर्ने निर्णय गरेको छ । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा अबदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकले नेपाल सरकारबाट स्वीकृत वा सरकारी स्वामित्वका स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउन पाउने व्यवस्था गरिएको उल्लेख छ ।
यस अघि विगत लामो समय देखि वैदेशिक रोजगारीमा जानेहरूका लागि छुट्टै स्वास्थ्य संस्था स्थापना गरेर सीमित संस्थामार्फत सिन्डिकेट मार्फत हुने गरेको थियो । नयाँ सरकार आएसँगै वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणको सिन्डिकेट अन्त्य गर्दै मन्त्रालयले स्वास्थ्य परीक्षणका लागि थप सरकारी तथा स्वीकृत अस्पताललाई अनुमति दिने प्रक्रिया अघि बढाएको जनाएको छ ।
