धनगढी । कैलालीको गौरीगंगा नगरपालिकामा गहुँ दाउने क्रममा थ्रेसरमा हात च्यापिँदा एक जना गम्भीर घाइते भएका छन्। सोमबार साँझ गौरीगंगा नगरपालिका–११ स्थित शिवपुरमा गहुँ दाइरहेका बेला स्थानीय ४१ वर्षीय गोरख सिंह धामी दुर्घटनामा परेका हुन्। ट्याक्टरमा जडान गरिएको थ्रेसरमा गहुँ हाल्ने क्रममा उनको दाहिने हात अचानक मेसिनभित्र पसेर च्यापिएको प्रहरीले जनाएको छ।
दुर्घटना लगत्तै उद्धार गरिएका धामीको अहिले धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घटनामा संलग्न ट्याक्टर र थ्रेसरलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।