काठमाडौं । कम्बोडियाबाट १२ नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ । विभिन्न प्रलोभनमा कम्बोडिया पुगेर अवैध काम गरिरहेका १२ नेपालीलाई थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले स्वदेश फर्काएको हो ।
कम्बोडियामा अवैधरुपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ् केन्द्रहरु, क्यासिनोलगायत अन्य गैरकानुनी काममा लगाइएका र बिनाभिसा त्यहाँ बसेकाहरुको उद्धार गरिएको दूतावासले जनाएको छ । उनीहरुलाई कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी गैरआवाशीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा सोमबार नेपाल पठाइएको हो ।
यसअघि पनि कम्बोडियामा अलपत्र परेका धेरै नेपालीहरुलाई उद्धार गरी स्वदेश फिर्ता गरिएको छ । अझै पनि अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीहरूलाई नेपाल फर्काउने पहल भइरहेको दूतावासले जनाएको छ ।
कम्बोडियामा नेपाली नागरिकहरु अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको र बिनाभिसा भिसा अवधिभन्दा बढी समय बसिरहेको जानकारी आएको दूतावासको भनाइ छ ।
अप्ठेरोमा परेका नेपालीहरुलाई सहजीकरणका दूतावास र गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिहरु (शिवराज पराजुली +८५५ १२ २१५ ५७८, श्री लालसिहं खडका +८५५ ९३ २०३ ६६६, रामजी कुमार छेत्री +८५५ ९६ ३४६ ५७८८ ) लाई सम्पर्क गर्न आग्रह गरिएको छ ।
कम्बोडियाको पर्यटनसम्बन्धी तथ्याङ्क अनुसार पछिल्लो समय सन् २०२१ मा १०१ जना नेपालीहरु भ्रमण भिसामा कम्बोडिया गएकोमा सन् २०२२ मा १९७७ जना, सन् २०२३ मा २९४० जना, सन् २०२४ मा ६४०४ जना र सन् २०२५ मा ९६७६ जना पुगेका छन् ।