काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मन्त्रालयका काम छिटो, प्रभावकारी र पारदर्शी बनाउन फास्ट ट्र्याक डेस्क स्थापना गर्ने निर्णय गरेकी छन्।
मन्त्री गौतमका अनुसार, यो डेस्कमार्फत मन्त्रालयभित्र भइरहेको कामको अवस्था नियमित रूपमा अनुगमन गरिनेछ। कुन महाशाखामा कुन काम कुन चरणमा छ भन्ने स्पष्ट जानकारी राखिनेछ भने अन्य मन्त्रालयबाट आएका पत्रहरूको फछ्यौट प्रक्रिया तुरुन्त सुरु भएको छ कि छैन भन्ने पनि सुनिश्चित गरिनेछ। साथै, अपूर्ण कागजात वा मन्त्रालयको कार्यक्षेत्रभन्दा बाहिरका विषयहरू प्राथमिकताका आधारमा सम्बन्धित निकायमा फिर्ता गर्ने वा आवश्यक कागजात माग गर्ने प्रक्रिया पनि छिटो बनाइनेछ। मन्त्रालयका विभिन्न शाखा तथा महाशाखाबाट हुने काम तोकिएको समयभित्र सम्पन्न नभए त्यसका कारणबारे नियमित रूपमा जानकारी संकलन र समीक्षा गरिने मन्त्री गौतमले बताइन्।