काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलमा कार्यरत प्राविधिक सहायक सन्जय चौधरीलाई घुस रकमसहित रङ्गेहात नियन्त्रणमा लिएको छ । आयोगको टङ्गालस्थित केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई सोमबार विभागकै परिसरबाट नियन्त्रणमा लिएको हो ।
प्राविधिक सहायक चौधरीले एक सेवाग्राहीको उद्योग नवीकरण गरिदिने प्रयोजनका लागि घुस माग गरी दुःख हैरानी दिएको उजुरी आयोगमा परेको थियो । सोही सूचना र उजुरीका आधारमा परिचालन भएको अख्तियारको टोलीले उनलाई सेवाग्राहीबाट रू. ३०,००० (तीस हजार रुपैयाँ) बुझिसकेको अवस्थामा फेला पारेको थियो ।
आयोगले घुसबापतको उक्त रकमका साथै चौधरीको साथबाट २ थान मोबाइल फोन समेत बरामद गरेको छ । प्रवक्ता सुरेश न्यौपानेका अनुसार, नियन्त्रणमा लिइएका चौधरीमाथि भ्रष्टाचार निवारण ऐन बमोजिम थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।