काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रबक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र बहादुर शाहीले जुम्ला जिल्लाको समग्र विकासका लागि प्रधानमन्त्री बालेन शाहसमक्ष विशेष अपील गरेका छन् । शाहीले आइतबार (१६ चैत) प्रधानमन्त्रीको निजी सचिवालयमा पत्र दर्ता गराउँदै कर्णाली क्षेत्र र विशेषगरी जुम्लाको सडक तथा सञ्चार क्षेत्रमा सुधारको माग गरेका छन् ।
शाहीले कर्णाली राजमार्गको स्तरोन्नति र समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायी (ठेकेदार) हरूलाई कडा कारबाही गर्न माग गरेका छन् । उनले पत्रमा कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत–दैलेख बजार–महाबुलेख–गाल्जे खण्ड र जुम्ला–मुगु अन्तर जिल्ला सडक अन्र्तगत भातडी–नाग्मा–गमगढी–नाक्चेलाग्ना र भुलभुल–रारा सल्लेली खण्डमा स्तरोन्नति र कालोपत्रेका लागि आग्रह गरेका छन् ।
त्यस्तै शाहीले ताम्ती–टोप्ला–इमिल्चा–जाजरकोट सडक, उथु–लासी–लुम–तल्पी–पेरे सडक, र दानसाधु–देपलगाउँ–गठिचौर–चोत्रा–मौरैलेक सडक (जुम्ला–डोल्पा)का लागि पहल गर्नका लागि आह्वान गरेका छन् ।
जुम्लाका धेरै ठाउँहरूमा अझै पनि सञ्चार सेवा प्रभावकारी नभएको उल्लेख गर्दै शाहीले जिल्लाभर आवश्यक नयाँ टावरहरू निर्माण गर्न माग गरेका छन् । उनले जिल्लाभर फोर जी इन्टरनेट सेवा विस्तार गर्न र विकट बस्तीहरूमा साना रिले टावरहरू स्थापना गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन ।
सांसद शाहीले कर्णालीको भूगोल र आवश्यकतालाई मध्यनजर गर्दै यी आयोजनाहरूलाई प्राथमिकतामा राख्न सरकारसँग जोडदार माग गरेका छन् ।


