काठमाडौँ । ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने १५ जना बिचौलियाहरूलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले आइतबार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
यातायात कार्यालयमा विभिन्न कामका लागि आउने सेवाग्राहीलाई ’फास्ट ट्रयाक’ मा काम गरिदिने प्रलोभन देखाई रकम असुल्ने गरेको गुनासो बढेपछि प्रहरीले विशेष अप्रेशन चलाएको थियो । पक्राउ परेका व्यक्तिहरूले सेवाग्राहीलाई अनावश्यक हैरानी र दुःख दिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धान र कारबाही प्रक्रियाजिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं एसपी गौतम मिश्रका अनुसार पक्राउ परेका १५ जनालाई नै अहिले प्रहरी वृत्त सातदोबाटोमा राखिएको छ । उनीहरूमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको र कानुन बमोजिम कारबाही गरिने मिश्रले जानकारी दिएका छन् ।
प्रहरीले यातायात कार्यालय जस्ता सार्वजनिक सेवा प्रवाह हुने स्थानमा बिचौलियाको भर नपर्न र कुनै पनि समस्या परेमा सिधै कार्यालयका कर्मचारी वा सुरक्षाकर्मीलाई सम्पर्क गर्न सेवाग्राहीलाई आग्रह गरेको छ।