काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको तातोपानी गाउँपालिकास्थित एक विद्यालयमा छात्रवृत्ति रकम हिनामिना गरेको अभियोगमा प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र लेखा सहायकविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
तातोपानी गाउँपालिका वडा नं. १ राँकास्थित गणेश माध्यमिक विद्यालयका पदाधिकारीहरूले छात्राहरूका लागि आएको छात्रवृत्ति र दिवाखाजाको रकम वितरण नगरी आपसी मिलेमतोमा हिनामिना गरेको पुष्टि भएपछि अख्तियारले आज (२०८२ चैत १६ गते) मुद्दा दायर गरेको हो ।
गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेतले विगत ५ वर्षदेखि छात्रवृत्ति र दिवाखाजा वापतको रकम वितरण नगरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । उक्त उजुरीका सम्बन्धमा आयोगले विस्तृत अनुसन्धान गर्दा आर्थिक वर्ष २०७९÷०८० को छात्रवृत्ति रकममा ठूलो अनियमितता भएको फेला पारेको हो ।
विद्यालयका प्रधानाध्यापक नरेन्द्र बहादुर महतले २०८० चैत २१ गते कक्षा १ देखि ८ सम्मका कुल १२७ जना छात्राहरूलाई छात्रवृत्ति वितरण गरेको भनी १ लाख ४५ हजार ३५० रुपैयाँकोे भरपाई तातोपानी गाउँपालिकामा पेस गरेका थिए ।
अनुसन्धानका क्रममा उक्त भरपाईमा मिति केरमेट गरिएको र २०८० असोज २१ मा पेस गरिएको पुरानै भरपाईसँग विवरणहरू जस्ताको तस्तै मेल खाएको देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख गरेको छ ।
अख्तियारको टोलीले विद्यालयमा पुगेर प्रत्यक्ष रूपमा छात्राहरूसँग सोधपुछ गर्दा उनीहरूले आर्थिक वर्ष २०७९÷०८० को छात्रवृत्ति रकम प्राप्त नगरेको बयान दिएका थिए । यसबाट प्रतिवादीहरूले रकम वितरण नगरी झुट्टा र किर्ते भरपाई बनाई सरकारी रकम व्यक्तिगत लाभका लागि प्रयोग गरेको पुष्टि भएको छ ।
अख्तियारले विद्यालयका तीन जना जिम्मेवार पदाधिकारीलाई मुख्य अभियुक्त बनाउँदै जनही १ लाख ४५ लाख ३५०रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ । अख्तियारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिल प्रसाद भट्टराई, विद्यालयका प्रधानाध्यापक नरेन्द्र बहादुर महत र बिद्यालयका लेखा सहायक कृष्ण कामीका बिरुद्ध मुद्धा दायर गरेको छ ।
आयोगले उनीहरू उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा कैद सजाय र बिगो बमोजिमको जरिवाना गरी बिगोसमेत असुल उपर गर्न मागदाबी लिएको छ ।सार्वजनिक संस्थालाई गैरकानुनी हानि पुरÞ्याउने र व्यक्तिगत लाभ लिने बदनियतले कार्य गरेकोले उनीहरूलाई कडा सजायको माग गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताएका छन् ।
अयाेगकाे आरोपपत्र