काठमाडौँ । फक्ताङलुङ गाउँपालिका–५ स्थित अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत एक युवक मृत अवस्थामा फेला परेका छन्। मृतक तेह्रथुमको म्याङ्लुङ नगरपालिका–१, गैरी गाउँका ४० वर्षीय यमराज लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
लिम्बू फागुन ८ गते घर जाने भन्दै हिँडेका थिए तर लामो समयसम्म सम्पर्कमा नआएपछि चैत १ गते परिवारले खोजतलासका लागि निवेदन दिएको थियो। त्यसपछि प्रहरीले खोजी कार्य अघि बढाएको थियो।खोजीका क्रममा आइतबार फक्ताङलुङ गाउँपालिका–२ स्थित मेथेन खोलमा उनको शव सडेगलेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक जटाशङ्कर यादवले जानकारी दिए। प्रहरीका अनुसार घटनास्थलमा गरिएको अनुसन्धानबाट मृतकको बाँया हातमा रहेको ट्याटुको आधारमा पहिचान गरिएको हो। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।