काठमाडौँ । आजदेखि वैदेशिक रोजगार विभागले आवेदन दिएकै दिन श्रम स्वीकृति उपलब्ध गराउने व्यवस्था गरेको छ। यसअघि टोकन प्रणालीमार्फत दैनिक सीमित संख्यामा मात्र श्रम स्वीकृति दिइँदै आएको थियो, तर अब उक्त प्रणाली हटाइएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवेदन दिँदै पेश गरिएका कागजातहरू पूरा भएमा सोही दिन श्रम स्वीकृति वा पुनः स्वीकृति प्रदान गर्न विभागलाई निर्देशन दिएको छ। श्रममन्त्री दिपक कुमार साहको उपस्थितिमा आइतबार भएको बैठकले श्रम क्षेत्रलाई व्यवस्थित, सुरक्षित र श्रमिकको हकहित संरक्षण हुने गरी सुधार अघि बढाउने निर्णय गरेको थियो। सरकारले चैत १३ मा ल्याएको शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीअनुसार विभिन्न कार्ययोजना कार्यान्वयन गर्न मन्त्री साहले निर्देशन दिएका छन्।