काठमाडौँ । विभिन्न राइड सेयरिङ कम्पनीहरूले चालकहरूको श्रम शोषण गरेको भन्दै राइडरहरू आन्दोलित भएका छन्। ’स्वतन्त्र चालक फाउन्डेसन नेपाल’को आयोजनामा आइतबार काठमाडौँको माइतीघर मण्डलामा भेला भई उनीहरूले मोटरसाइकल र स्कुटरसहित विरोध प्रदर्शन गरेका हुन्।
पेट्रोलियम पदार्थको मूल्य आकाशिए पनि कम्पनीहरूले भाडा दर समायोजन नगरेको र राइडरको हिस्सा कटौती गरेको भन्दै उनीहरू आक्रोशित बनेका छन्। पेट्रोलियम पदार्थको मूल्य पटक–पटक बढे पनि विगत चार वर्षदेखि राइड सेयरिङको भाडा पुरानै दरमा रहेको भन्दै भाडा समायोजन गर्नपर्ने माग गरेका छन् ।
राइडरको पसिनामा कम्पनीले मात्र नाफा कमाएको र चालकहरूलाई न्यून आयमा काम गर्न बाध्य पारिएको आरोप राइडरको रहेको छ । कम्पनीले राइडर र यात्रुको पूर्ण सुरक्षा तथा बीमाको सुनिश्चितता हुनुपर्ने मागसहित राइडरहरु आन्दोलित बनेका हुन ।
प्रदर्शनमा सहभागी एक चालकले भने, “पेट्रोल महँगो भइसक्यो तर हाम्रो भाडा उस्तै छ। कम्पनीले आफ्नो कमिसन घटाउँदैन, हामीले भने तेल हालेर बचत गर्नै नसक्ने अवस्था आयो। यो सरासर अन्याय हो।“
फाउन्डेसनले आफ्ना मागहरू पूरा नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ। पछिल्लो समय पठाओ, इनड्राइभर जस्ता एपहरूमा आबद्ध चालकहरूले समय–समयमा सेवा शुल्क र सुरक्षाको विषयलाई लिएर आवाज उठाउँदै आएका छन्।