काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेविरुद्धको राहदानी दुरुपयोग मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ। सुनुवाइ सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र मेघराज पोखरेलको इजलासमा हुनेछ। लामिछानेले दोहोरो राहदानी (नेपाली र अमेरिकी) प्रयोग गरेको आरोप लागेपछि दुई वर्षअघि युवराज पौडेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। यस रिटमा, महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको कुरा कानुनविपरीत भएको दाबी गरिएको छ। यो मुद्दा लगातार चार पटकसम्म हेर्न नसकिएको थियो र आज १२ औं नम्बरमा सुनुवाइको सूचीमा परेको छ।