काठमाडौँ । आइतबार राति इरानको राजधानी तेहरानमा दुई चरणमा हवाई हमला भएको छ। चाइना मिडिया ग्रुप (सीएमजी)ले खिचेको भिडियोमा राजधानीको आकाश निरन्तर विस्फोटको उज्यालोले भरिएको देखिएको छ। त्यस क्रममा साइरन बजेको र क्षेप्यास्त्र आगमनको चेतावनी दिएको देख्न सकिन्छ।
यो आक्रमणले राजधानीका केही क्षेत्रमा ब्ल्याकआउट समेत निम्त्याएको थियो। सीएमजीका रिपोर्टर ली जियानानले भने,म अहिले तेहरानको उत्तरपूर्व भागमा छु। मार्च २९ मा स्थानीय समयअनुसार राति ९ः०५ र ९ः१८ बजे राजधानीमा दुई चरणमा ठूलो हवाई हमला भएको थियो। विस्फोटपछि आकाशमा अझै धुवाँ देखिन्थ्यो। पहिलो विस्फोटपछि वायु रक्षा प्रणाली सक्रिय भयो र हामीले साइरनको आवाज पनि सुन्न सक्यौं। हवाई हमलाले तेहरानका धेरै क्षेत्रमा क्षति पुर्याएको छ।
विद्युत आपूर्तिलाई लक्षित गर्दा ब्ल्याकआउट भएको थियो। हाल, अमेरिका–इजरायल–इरानबीचको द्वन्द्व तीव्र छ। इरानले इजरायल र यस क्षेत्रका अमेरिकी सैन्य अड्डाहरूमा आफ्नो आक्रमण बढाउँदै आएको छ। फेब्रुअरी २८ पछि, संयुक्त राज्य अमेरिका र इजरायलले तेहरानसहित अन्य इरानी शहरहरूमा हवाई आक्रमण सुरु गरेपछि द्वन्द्व जारी छ। त्यसपछि प्रमुख सैन्य कमाण्ड, क्षेप्यास्त्र प्रतिष्ठान, ऊर्जा पूर्वाधार र आणविक सुविधाहरूलाई लक्षित गर्दै हमलाहरू जारी छन्।