काठमाडौँ । नेपाल पत्रकार महासंघले आफ्नो ७१औँ स्थापना दिवसका अवसरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको हित र जिम्मेवार पत्रकारितालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। महासंघका अध्यक्ष निर्मला शर्माले स्थापना दिवसका अवसरमा जारी शुभकामना मन्तव्यमा देश तथा विदेशमा रहेका महासंघका सदस्य, सञ्चारकर्मी र प्रेस स्वतन्त्रताका पक्षधरहरूलाई शुभकामना व्यक्त गर्दै पत्रकारिताको गौरवपूर्ण इतिहासलाई नयाँ उचाइमा पुर्याउने जिम्मेवारी सबैको साझा दायित्व भएको बताएकी छन् ।
उनले सात दशक लामो इतिहास बोकेको महासंघ मुलुककै पुरानो अगुवा नागरिक संस्थाका रूपमा प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको हित, मानव अधिकारको रक्षा तथा नागरिकको सही सूचना पाउने अधिकारको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरिन् ।
अध्यक्ष शर्माले सूचना प्रविधि र सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै मिथ्या सूचनाको प्रवाह बढेकाले जिम्मेवार र व्यावसायिक पत्रकारिताको आवश्यकता अझ बढेको बताईन् । उनले पाठकलाई सञ्चारमाध्यमका सामग्री र सामाजिक सञ्जालमा व्यक्त विचार छुट्याउन कठिनाइ भइरहेका बेला पत्रकारहरूले तथ्यमा आधारित र उत्तरदायी पत्रकारितामार्फत महासंघको मर्यादा उँचो बनाउनुपर्नेमा जोड दिइन् ।
हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि करिब दुईतिहाइको सरकार बनेको उल्लेख गर्दै उहाँले यसबाट लामो समयदेखिको राजनीतिक अस्थिरताको अन्त्य हुने विश्वास व्यक्त गरिन् । साथै लामो समयदेखि रोकिएका सञ्चारसम्बन्धी कानुन सरोकारवाला पक्षसँग छलफल गरी अघि बढाउन सरकारसँग आग्रह गरिन् । महासंघले आन्दोलनका क्रममा प्रभावित सञ्चारगृह तथा दुर्घटनामा परेका पत्रकारलाई क्षतिपूर्ति उपलब्ध गराई मनोबल बढाउनुपर्ने आवश्यकता औँल्याएको छ।