काठमाडौँ। मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो ले जनकपुरधाममा अनधिकृत संरचना हटाउने अभियानलाई तीव्र बनाएका छन्।
केही दिनयता मन्त्री महतो स्वयं सडक, चोक तथा मन्दिर आसपासका फुटपाथ खाली गराउँदै आएका छन्। यसै क्रममा आज गंगासागर पोखरी नजिक रहेको हेरिटेज वाक क्षेत्रमा बनेका टहरा र फुटपाथमा सञ्चालन भइरहेका पसलहरूमा डोजर चलाएर हटाइएको छ। मन्त्री महतोका अनुसार करिब १० दिनअघि नै व्यवसायीहरूलाई स्थान खाली गर्न सूचना दिइएको थियो। तर अटेरी गरेपछि बाध्य भएर डोजर प्रयोग गरिएको उनले बताए। जनकपुरधामलाई सफा, व्यवस्थित र पर्यटकीय सहरका रूपमा विकास गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको उनको भनाइ छ।
यस अभियानमा जनकपुरधाम उपमहानगरपालिका र उद्योग वाणिज्य संघको समन्वय रहेको जनाइएको छ। यता, फुटपाथमा व्यापार गर्दै आएका व्यवसायीहरूले वैकल्पिक स्थान नदिई आफ्नो रोजीरोटी खोसिएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले आफूहरूलाई अन्यत्र व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्। उक्त अभियानप्रति भने स्थानीयवासीको मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले शहर व्यवस्थापनका लागि सकारात्मक कदम भन्दै समर्थन गरेका छन् भने केहीले गरिब व्यवसायीमाथि अन्याय भएको बताएका छन्।