काठमाडौँ। नेकपा एमाले रौतहट जिल्ला कमिटीले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखक को पक्राउको विरोधमा सदरमुकाम गौरमा प्रदर्शन गरेको छ।
सरकारको कदमलाई ‘राजनीतिक प्रतिशोध’ र ‘गैरकानुनी’ भन्दै एमाले कार्यकर्ताहरूले बजार क्षेत्रमा नाराबाजीसहित विरोध जनाएका थिए। प्रदर्शनपछि उनीहरूले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन्। एमालेका केन्द्रीय सदस्य अजय गुप्ता का अनुसार भदौ २३ र २४ को घटनाबारे गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगप्रति पार्टीले सुरुदेखि नै असहमति जनाएको थियो। उक्त प्रतिवेदनलाई पूर्वाग्रही र न्यायिक सिद्धान्तविपरीत भएको आरोप एमालेले लगाएको छ।
एमालेले सोही प्रतिवेदनका आधारमा गरिएको पक्राउ लोकतान्त्रिक मूल्यमान्यताविपरीत भएको भन्दै दुवै नेताको तत्काल रिहाइको माग गरेको छ। साथै, घटनाको निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा नयाँ उच्चस्तरीय आयोग गठन गर्न पनि सरकारसँग आग्रह गरिएको छ। प्रदर्शनका क्रममा कुनै अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको थियो। प्रहरी र सशस्त्र प्रहरी बललाई बजार क्षेत्र तथा संवेदनशील स्थानहरूमा ठूलो संख्यामा परिचालन गरिएको थियो। एमालेले आफ्ना माग पूरा नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएको छ।