काठमाडौँ। रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बनेको बिपी राजमार्ग मा आज बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको छ। शुक्रबार साँझ परेको अविरल वर्षापछि आएको बाढीले बगाएको अस्थायी डाइभर्सन मर्मत गरिएपछि सडकमा दुईतर्फी सवारी आवागमन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
प्रहरीले मौसमको अवस्था अस्थिर रहेकाले सावधानीपूर्वक यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। बाढीका कारण रोशी क्षेत्रमा बनाइएको अस्थायी सडक बग्दा दुई दिनसम्म राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। शनिबार रातिसम्म मर्मत कार्य सम्पन्न भएपछि यातायात सञ्चालनमा ल्याइएको हो। प्रहरीका अनुसार रोशी गाउँपालिका–७ घुमाउने डाँडा, वडा नं.९ विरुवाडाँडा, वडा नं. ११ कालढुङ्गा तथा नमोबुद्ध नगरपालिका–६ चौकीडाँडामा करिब चार किलोमिटर सडक खण्ड बाढी र वर्षाका कारण अवरुद्ध बनेको थियो।
यसअघि काठमाडौँबाट बिपी राजमार्ग हुँदै पूर्वतर्फ जाने–आउने सवारी साधन पूर्ण रूपमा रोकिएका थिए। गत वर्षको बाढीले राजमार्गमा ठूलो क्षति पुर्याएपछि अहिले पुनर्निर्माणको काम भइरहेको छ। सोही क्रममा रोशी खोलामा विभिन्न स्थानमा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएको थियो, जुन बाढीले बगाउँदा सडक अवरुद्ध बनेको थियो। यसैबीच, रोशी खोलाले बगाएको रामेछाप निर्वाचन क्षेत्र ‘ख’को मुख्य प्रवेश नाका मानिने नेपाल थोक–खैरेनी घाट पुल जोड्ने अस्थायी डाइभर्सन पनि पुनः निर्माण गरिएको छ। उक्त संरचना क्षतिग्रस्त भएपछि सो मार्गसमेत केही समयका लागि बन्द भएको थियो।