काठमाडौँ। भक्तपुर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिले विद्यार्थीका हक–अधिकारका पक्षमा दृढ भएर उभिन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विद्यार्थीहरू विभिन्न समस्या लिएर स्ववियु समक्ष आउने गरेको उल्लेख गरेका छन्।
यस्तो अवस्थामा उनीहरूलाई अन्यत्र पठाएर पन्छिनु भन्दा उनीहरूको आवाज बनेर समाधानका लागि अघि बढ्नु नै आफ्नो कर्तव्य भएको उनले बताएका छन्। हालै सार्वजनिक गरिएको योजनाको सूचीको ८६औँ बुँदाप्रति असन्तुष्टि जनाउँदै उनले विश्वविद्यालयहरूमा शिक्षा, शुल्क, भौतिक संरचना र अवसरसँग सम्बन्धित धेरै जटिल समस्या रहेको औंल्याएका छन्। तर सरकारको ध्यान भने संविधानले दिएको अधिकार सीमित गर्ने दिशातर्फ केन्द्रित भएको उनको भनाइ छ। विद्यार्थी संगठन र राजनीतिक दलबीचको सम्बन्धबारे बहस हुन सक्ने भए पनि विचारका आधारमा संगठित हुने संवैधानिक अधिकार कुनै पनि अवस्थामा खोस्न नहुने उनको जोड छ।