काठमाडौँ । गत भदौ २३ र २४ को हिंसात्मक घटनाको अनुसन्धान गर्न सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्दा नेपाल प्रहरीका तत्कालीन आइजिपी चन्द्रकुबेर खापुङलाई भने पक्राउ परेका छैनन् । उक्त घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुखलाई फौजदारी कसूरमा कारवाही सिफारिस गरेको थियो ।
प्रहरीले शनिबार बिहान भक्तपुरस्थित निवासबाट ओली र लेखकलाई पक्राउ गरेपनि खापुङलाई भने अहिलेसम्म पक्राउ गर्ने कुनै छलफल भएको देखिदैन । प्रधानमन्त्री बालेन्द्र ९बालेन० शाह नेतृत्वको सरकारले शुक्रबार गरेको निर्णय अनुसार पूर्वआइजिपी खापुङ तत्काल पक्राउ नपर्ने बुझिएको छ । बालेन सरकारको पहिलो मन्त्रिपरिषद बैठकले राजनीतिक नेता र सुरक्षा अधिकारीहरूलाई छुट्टाछुट्टै व्यवहार गर्ने गरी निर्णय गरेको थियो।
मन्त्रिपरिषदले सुरक्षा संयन्त्रका हकमा अध्ययन समिति गठन गरी त्यसले पेस गरेको सिफारिस बमोजिम गर्ने र अन्यका हकमा जाँचबुझ आयोगले सिफारिस गरेबमोजिम कार्यान्वयन गर्ने निर्णय गरेको थियो। नेपाल प्रहरीका प्रवक्ता तथा डिआइजी अबिनारायण काफ्लेले मन्त्रिपरिषद निर्णय बमोजिम कारबाही अघि बढेको बताएका छन्। जाँचबुझ आयोगले मुलुकी अपराध संहिता २०७४ को दफा १८१ अनुसार लापरबाहीपूर्ण काम गरी ज्यान मार्न नहुने कसुर, दफा १८२ अनुसार हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो।
आयोगको सिफारिस अनुसार अनुसन्धान गर्न किटान भएको कसुरमा २५ दिनसम्म हिरासतमा राख्न मिल्ने व्यवस्था छ। ओली र लेखकलाई आइतबार जिल्ला अदालतमा म्याद थपका लागि पेस गर्नुपर्नेछ।लापरबाहीपूर्ण काम गरी ज्यान मार्न नहुने कसुरमा ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि एक लाख रूपैयाँसम्म जरिवाना हुने प्रावधान छ। त्यस्तै, हेल्चेक्र्याइँ गरी ज्यान मार्न नहुने कसुरमा ३ वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।