काठमाडौं । देशभर मौसम बदली भई काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा सुरु भएको छ । अहिले सातै प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका सूचना अधिकारी दिनकर कायस्थले आज र भोलि मौसम बदली रही वर्षा हुने जानकारी दिए । उनका अनुसार पछिल्लो एक घण्टामा करिब ५० मिलीमिटर वर्षामापन केन्द्रमा वर्षा मापन गरिएको छ ।
त्यसमध्ये सबैभन्दा बढी सङ्खुवासभामा २७ मिलीमिटर र नुवाकोटमा २६ मिलीमिटर वर्षा भएको सूचना अधिकारी कायस्थले जानकारी दिए । लमजुङमा १७, चितवनमा छ दशमलव चार, म्याग्दीमा छ दशमलव चार, कास्कीमा सात दशमलव आठ, तनहुँमा सात दशमलव दुई मिलीमिटर वर्षा भएको छ ।