काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले सुधन गुरूङलाई गृहमन्त्री बनाउँदा धेरैको ध्यान खिचेको छ। प्रारम्भमा पार्टी सभापति रवि लामिछानेले उपसभापति डोलप्रसाद अर्याल डिपी लाई गृहमन्त्री बनाउने इच्छा राखेका थिए।
तर, सरकार गठनको क्रममा जेनजी आन्दोलनको भावना र परिणाममुखी नेतृत्व आवश्यक हुने तर्क गर्दै बालेनले गुरूङको नाम अघि सारे। अन्ततः सभापति लामिछानेले सहमति जनाएका थिए। गोरखा–१ बाट निर्वाचित ३८ वर्षीय गुरूङ जेनजी आन्दोलनका अगुवामध्ये एक हुन् र सामाजिक काममा पनि सक्रिय रहेका छन्। उनी आन्दोलनको मर्म अनुसार सत्ता सञ्चालन गर्न उपयुक्त पात्र मानिएका छन्। सुधन गुरूङ गृहमन्त्री बनेपछि डिपी अर्याल सभामुख हुने सम्भावना पुष्टि भएको छ। यसैगरी, कविन्द्र बुर्लाकोटी मुख्य सचेतक र निशा डाँगी सचेतक बन्ने लगभग पक्का भएको स्रोतहरूले जनाएका छन्।
यसरी, बालेन नेतृत्वको मन्त्रिपरिषदमा नेताहरूको क्षमता र राजनीतिक सन्तुलनलाई ध्यानमा राख्दै जिम्मेवारी बाँडफाँड गरिएको देखिन्छ।