काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको शपथ समारोहमा नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्। झापा–५ बाट विजयी भएका बालेन्द्रले पद ग्रहण गरेका कार्यक्रममा ओली सहभागी नभएको खबर प्राप्त भएको छ।
यस्तै, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पनि विदेश भ्रमणमा रहेकाले समारोहमा उपस्थित हुन सकेनन्। राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित विशेष शपथ समारोहमा अन्य पाँच पूर्वप्रधानमन्त्रीहरू भने सहभागी थिए। यसमा नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड), सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, र प्रगतिशील पार्टी नेता बाबुराम भट्टराई सहभागी भएका थिए। त्यस्तै, अन्तरिम सरकारका प्रमुख तथा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी पनि कार्यक्रममा उपस्थित रहे। समारोहमा केही पूर्वप्रधानमन्त्रीको अनुपस्थितिले राजनीतिक र कूटनीतिक दृष्टिले विशेष ध्यान तानेको छ।