काठमाडौँ। प्युठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा बाँदिकोटबाट बुटवल जाँदै गरेको स्वर्गद्वारी यातायात प्रालिको ‘अन टेस्ट’ मिनी बस दुर्घटना भएको छ। दुर्घटनामा १६ जना घाइते भएका छन्। जिल्लाको प्रहरी कार्यालयका अनुसार अधिकांश घाइतेको अवस्था सामान्य रहेको छ।
घाइतेमध्ये प्युठान नगरपालिका–२ की ५१ वर्षीया बिमला बिष्ट, झिम्रुक–३ का ३६ वर्षीया कमला केसी, ४५ वर्षीय हिरा जीसी, २२ वर्षीय प्रताप एमसी, १३ वर्षीय रुपेश पोख्रेल र २१ वर्षीया शुसिला पोख्रेललाई बुटवल अस्पतालमा उपचारका लागि रिफर गरिएको छ। अन्य घाइते स्थानीयहरू दाङ, झिम्रुक र बाँदिकोटका हुन्। घाइतेहरूलाई टाउको, हातखुट्टा र शरीरका विभिन्न भागमा सामान्य चोट लागेको छ। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान जारी राखेको जनाएको छ।