काठमाडौँ। जिल्ला अस्पताल बाजुराको व्यवस्थापन समितिको अध्यक्षमा धनबहादुर रावत नियुक्त भएका छन्। खप्तड छेडेदह गाउँपालिका–५ निवासी रावतलाई उक्त जिम्मेवारी दिइएको हो।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले उनलाई अध्यक्षमा नियुक्त गरेको हो। मन्त्रिपरिषद् बैठकले विभिन्न जिल्ला अस्पतालका व्यवस्थापन समितिका अध्यक्षहरू चयन गर्ने क्रममा रावतलाई पनि जिम्मेवारी दिएको बताइएको छ। रावत नेपाली कांग्रेस निकट मानिन्छन्। यसअघि उक्त पदमा नेकपा (समाजवादी) का सिफारिसमा मानबहादुर कार्की रहेका थिए। उनको कार्यकाल सकिएपछि केही समयदेखि अध्यक्ष पद रिक्त थियो।
कार्की अध्यक्ष हुँदा पहिलोपटक बडिमालिका नगरपालिकाले नेतृत्व पाएको थियो। यसअघि भने सो नगरपालिकाबाट नेतृत्व हुने अवसर पाएको थिएन।यता, रावतको नियुक्तिलाई लिएर कांग्रेसभित्रै विवाद देखिएको छ। पार्टीभित्रको गुटगत असन्तुष्टिका कारण विषय थप चर्किएको जनाइएको छ। यससँगै नेकपा एमाले का नेता–कार्यकर्ताहरू पनि असन्तुष्ट देखिएका छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत निर्णयप्रति असन्तुष्टि जनाउँदै तत्काल पुनर्विचार गर्न माग गरेका छन्।