काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । आज दिउँसो देशको हिमाली भूभागमा अधिकांश बादल, पहाडी भूभागमा साधरणतया बादल र तराई भूभागमा आंशिक बादल लाग्नेछ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका धेरै स्थानहरूमा, बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा चट्याङ्ग, हावाहुरी,असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति देशको हिमाली भूभागमा अधिकांश बादल तथा कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका थोरै तथा तराई भूभागको एक–दुई स्थानमा चट्याङ्ग, हावाहुरी, असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।